मंगलबार, वैशाख ३०, २०८२

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा

नेपालखोज २०७८ असार २४ गते ७:०९

काठमाडौं । डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।

घरेलु मैदान वेम्बली स्टेडियममा रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो। ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।

प्रतिक्रिया