देशभर हल्कादेखि मध्यम वर्षा, काठमाडौंमा झरी

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य देखि पुर्ण बदली भइरहेको छ । बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम र कुनै ठाउँमा भारी वर्षा भैरहेको छ मौशम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।
विभागले आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
जसले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
विभागकाअनुसार आज दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया