मंगलबार, वैशाख ३०, २०८२

‘यस वर्षको विपत्बाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिने’

नेपालखोज २०७८ असार २५ गते १५:५८

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपत्बाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरुलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताए ।

मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के-कति क्षति भएको छ त्यसको तथ्यांक संकलन गरिरहेको उनले जानकारी दिए ।

एकसाताभित्र लगत संकलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति मार्फत् सम्बोधन गरिने उनले बताए ।

सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको बताए । हालसम्म ५६ प्रतिशत धान रोपाई भएको उनले जानकारी दिए । यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको उनले बताए ।

निरन्तर भेलबाढी आइरहेमा सरकारको लक्ष्य प्राप्तिमा समस्या पैदा हुने उनको भनाइ छ । बाढी, पहिरोबाट किसानलाई क्षति हुन नदिनका लागि मन्त्रालयको ध्यान केन्द्रीत रहेको उनले बताए ।

प्रतिक्रिया