मंगलबार, वैशाख ३०, २०८२

महामारी नियन्त्रणका लागि छुट्टै स्वायत्त निकाय गठन गर्न विज्ञहरुको सुझाव

नेपालखोज २०७८ असार २५ गते १८:२७

काठमाडौं । विज्ञहरुले महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरुले समयमा समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनु पर्ने सुझाव दिएका हुन् ।

छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड १९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दे सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण रोकथाम र उपचार गर्न सक्तैन भन्ने प्रमाणित गरेको बताए । यस महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको तर मन्त्रालय भित्रको पुरानै प्रशासनिक तौरतरिकाले कयौ राम्रा काम भएपनि निरन्तरता पाउन नसक्दा प्रभावकारीतामा प्रश्न उठेको बताए ।

उनले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतन ल्याउनु आवश्यक भएको बताए । उनले महामारीलाई सम्बोधन गर्न विकसित मुलुकहरुले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन भनी छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराए ।

उनले भने, “नियमित रुपमा आउने महामारी नियन्त्रणका लागि स्वायत्त प्रकृतिको निकाय आवश्यक पर्ने हुन्छ । त्यसलाई आवश्यक पर्ने साधन, स्रोत उपलब्ध गराएर चाहिने अधिकार दिएर, अरु देशको सीडीसीले कसरी काम गरेका छन् भन्ने अध्ययन गरेर, उपयुक्त निकाय बनाउनु जरुरी छ । यसले महामारी आउँछ भन्ने सोचेर सधै नियन्त्रण,रोकथाम र आवश्यक पहलकदमीका लागि तयारी अवस्थामा बसिरहन्छ ।”

त्यस्तै, सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले भेरोसेल खोप चाईनामा ७९ प्रतिशत प्रभावकारी रहेको खोज अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारीता माथि शंका नगर्न आग्रह गरे । उनले कडा प्रयोग र परीक्षण पछि मात्रै आउने भएकाले खोपहरुमाथि कुनै शंका गर्नुपर्ने आवश्यकता नभएको बताए ।

डा पुनले कोभिड १९ बारे विश्व नै अनविज्ञ भएकाले सुरुवाती समयमा निकै समस्या परेपछि अब भने सहज हुँदै गएको पनि बताएका छन् । कुनै उमेर समुहलाई कोभिड नलाग्ने भन्ने नहुने भन्दै उनले लाग्न नदिनका लागि खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताए । छलफलमा समिति सदस्यहरुले कोभिड १९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलगायत बारे विज्ञहरुसंग जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया