‘सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलायो’

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारले संसद छलेर अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताइन् ।
उनले सरकारले नागरिकको हित विपरित केवल आफ्नो अभिष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताइन् । आफै कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायी प्रस्तुत गरेको उनले उल्लेख गरिन् ।
उनले भने– ‘यदी सरकारले अध्यादेशमार्फत् बाटै मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हित विपरित सरकारले आफ्नो अभिष्ट पुरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्र भित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’
उनले सरकारले घोषणा गरे अनुसार कोभिड – १९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताए । जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाई छ । शिक्षा क्षेत्रपनि तहसनहस भएको उल्लेख गर्दै उनले कोभिड – १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरु आन्दोलित भइरहेको भएपनि सरकार बेखबर बताइन् ।
उनले भने – ‘स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता दिने भनेर सरकारले निर्णय गर्यो । तर आजसम्म ति स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । उनीहरुको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कूल भनेर शिक्षकहरु आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’
उनले महिला हिंसाको घटनामा वृद्धि भईरहेको भन्दै यस्ता संवेदनशील विषयहरुमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताइन् ।
प्रतिक्रिया