एमाले कार्यदलको सहमतिले पार्टी पङ्क्तिमा उत्साह

काठमाडौं । दोस्रो तहका दश नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा (एमाले) दलभित्र उत्साह पैदा भएको छ ।
शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण पार्टी विभाजित हुनसक्ने र मुलुकको समृद्धि र स्थिरतामा असर पार्न सक्ने चिन्तालाई अन्त्य गर्दै आइतबार राति कार्यदलले सहमति सार्वजनिक गरेको थियो । ‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ ।
प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने सहमतिलाई व्याख्या गर्ने सन्दर्भमा केही आ–आफ्ना प्रस्तुति देखिए पनि आमरुपमा सहमतिलाई स्वागत गरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कार्यदलकै सहमतिको स्वागत र टिप्पणी देखिएको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा लामो समयदेखि देखा परेको समस्या समाधानका लागि गठित कार्यदलले आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकामा कार्यदलका सदस्यलाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ । अब हामीले पार्टी र सङ्गठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरुरी छ । एमाले एकताबद्धरूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहन्छ ।’, महासचिव पोखरेलले भनेका छन् ।
पार्टीका सचिव योगेशकुमार भट्टराईले सहमति स्वागतयोग्य भएको बताएका छन् । उनले सहमतिको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै र विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यको युगीन कार्यभार बनेको उल्लेख गरेका छन् ।
एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित दश सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपाध्यक्ष डा भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, विष्णु रिमाल र रघुजी पन्त थिए ।
प्रतिक्रिया