मनकामना स्मार्ट लघुवित्तको आईपीओे बाँडफाँड

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओे जारी गरेको थियो । संस्थाको आईपीओेमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँड गरेको थियो ।
जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । तीमध्ये दुईजनाले ११ कित्ता सेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजार बढी आवेदकको हात खाली भएका छन् ।
कम्पनीले तीन करोड ८९ लाख रुपैयाँबराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपीओेको नतिजा मेरो सेयर, सीडीएसले आईपीओे नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
प्रतिक्रिया