बिहीबार, जेठ २, २०८२

सर्वोच्चले राज्यका तिनवटा अंगहरुबीचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको एमालेको साझा निष्कर्ष

नेपालखोज २०७८ असार २८ गते २१:१०

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताए ।

उनले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तिनवटा अंगहरुबीचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उनले बताए ।

उनले भने – ‘नेकपा एमाले स्थायी कमिटीका उपलब्ध कमरेडहरुको बिचमा आज हामीले अनौपचारिक छलफलहरु गरेका छौँ । मुख्यतया आज सर्वोच्च अदालतबाट भएको फैसला र यसबाट उत्पन्न गम्भिर परिस्थितिको बारेमा हामीले विभिन्न कमरेडहरुका धारणाहरु बुझ्ने काम गरेका छौँ । यसको बारेमा औपचारिक दृष्टिकोण बनाउनका लागि स्थायि कमिटी बैठक भोलि बस्दैछौँ र त्यो बैठकपछि हामी औपचारिक धारण लिएर यहाँहरु समक्ष आउनेनै छौँ । सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय भएपनि, त्रुटीपूर्ण भएपनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसलाको कार्यान्वयन त हामी गर्छौ तर यसले जुन दिशातिर मुलुकको राष्ट्रिय राजनीतिलाई र प्रणालीलाई लग्न खोजेको छ हामी एकदमै चिन्तित भएका छौँ ।’

प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताए । पार्टी स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिए ।

प्रतिक्रिया