कांग्रेस क्रियशील सदस्यता वितरणमा झमेला, असन्तुष्ट कार्यकर्ता धर्नामा

काठमाडौं । नेपाली कांग्रेसको १४औ महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशिल सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशिल सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए । उनले सभापतिलाई वाईपास गरेर , नगर सभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशिल सदस्यता वितरण गरिएको बताए । उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गरे । उनले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि दिए ।
त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गरे । उनले त्यसबारे सम्बन्धीत् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।
क्रियाशिल सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले असार महिनामा क्रियाशिल सदस्यता वितरणमा देखिएको समस्या निरुपण गरि अन्तिम टुंगो लगाउने बताएको थियो । तर अधिकांश जिल्लामा क्रियाशिल सदस्यता वितरण सम्बन्धमा विवाद चुलिदै गएको छ । दैनिक जसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दैगएको पुष्टि गरेको छ ।
प्रतिक्रिया