सभामुख सापकोटा भन्छन्- वृहत्तर राष्ट्रिय एकताको खाँचो छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद् भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत राष्ट्रिय एकताको खाँचो रहेको उनले बताए ।
उनले भने, ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई बिचार गर्दाखेरी फेरीपनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नको लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ति सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत्ः पार्टीहरुको भुमिका हुन्छ ।’
उनले वृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको सन्देश दिनुपर्ने पनि बताए ।
उनले भने, ‘बृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहीँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’
सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताउए । उनले संसद बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।
प्रतिक्रिया