प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आजै शपथ लिने तयारी

काठमाडौं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।
मन्त्रालयको बारेमा टुंगो नलागे पनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको प्रमुख सचेतक दिलिप साहले बताए । मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आज दिउासो ३ बजेका लागि तय भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।
त्यस्तै, प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन् । मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए ।
प्रतिक्रिया