तातोपानी भन्सारबाट न्यून राजस्व असुली

चौतारा । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक अर्ब दुई करोड रूपैयाँ मात्र राजस्व असुली भएको छ ।
सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो आवमा पाँच अर्ब ४७ करोड रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महिना मात्र सञ्चालनमा आएको थियो ।
यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उनले बताए । विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।
यसपछि २०७६ जेठ १५ गते पुनःसञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन । लिपिङ पुल पारी १० वटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया