आजको एमाले केन्द्रीय कमिटी बैठकले माधव समूहलाई कारबाही गर्ने
माधव नेपाल पक्षले स्पष्टीकरण नदिने

काठमाडौं । नेकपा एमालेको आजको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई हिजो बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आजको बैठक अघि स्पष्टीकरण नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने एक नेताले बताएका छन् ।
आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल केन्द्रीत हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ ।
माधव नेपाल पक्षले भने स्पष्टीकरण नदिने बताएको छ । संसद पुनस्र्थापना गर्दा सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुँदा पार्टीको ह्वीप नलाग्ने र ह्वीप नमानेका आधारमा कारबाही पनि गर्न नमिल्ने फैसला गरेकोले स्पष्टीकरण नदिने माधव समूहको निश्कर्ष छ ।
प्रतिक्रिया