पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न सभापति देउवाकाे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिए ।
बुढानिलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न दवाव दिँदैै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभरमा सुुनुवाइ गरी भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेस गर्न छानवीन समितिलाई सचेत गराएका छन् ।
निष्पक्ष ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिनबारे माग राख्दै पार्टी कार्यालयमा धर्ना दिँदै आउनु भएका नेता, कार्यकर्ताहरुको माग आज दिनभर सुनुवाइ गरी भोलि बिहान पुन बस्ने पदाधिकारी बैैठकमा पेस गर्न सभापति देउवाले छानविन समितिलाई निर्देशन दिएका पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकले भोलि साउन ९ गते बिहान नौं बजे सभापति देउवाको निवास बुढानिलाकण्ठमै बस्नेछ । बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने पार्टी केन्द्रित कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको छ ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारीसमेत गराए ।
कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेसन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनसमेत नआएकाले सो सम्बन्धि मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।
बैठकमा केन्द्रिय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानवीन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया