बुधबार, जेठ १, २०८२

आजबाट नेपालका खेल सुरु हुँदै, २ सय ७ देशका खेलाडीबीच प्रतिस्पर्धा

नेपालखोज २०७८ साउन ९ गते ८:१३

काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हिजो (शुक्रबार) बाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । आज (शनिबार) बाट भने नेपालका खेलहरु पनि सुरु हुने भएका छन् ।

२ सय ७ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने टोकियो ओलम्पिकमा आज (शनिबार) सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्नेछिन् ।

भट्टको विपक्षी खेलाडी रुसकी डोल्गोभा इरिना हुन् । साउन १२ (जुलाई २७, मंगलबार) भने पौडीका एलेक्जेन्डर शाह (एलेक्स) ले १०० मिटर फ्री स्टाइलमा र साउन १३ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।

साउन १५ (जुलाई ३०) मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्‍वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् ।

हिजो भएको उद्घाटन समारोहमा ओलम्पिकमा भाग लिएका विभिन्न २ सय ७ देशले मार्चपास गरेको थियो । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाटै सुरु भइसकेका थिए ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगेका छन् । उद्घाटन समारोहमा नेपालका तर्फबाट पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले झन्डा बोक्ने अवसर पाएका थिए ।

उद्घाटन समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति थियो । प्रतियोगिता दर्शकको उपस्थितिबिनै हुँदै छन् ।

टोकियो ओलम्पिकमा २ सय ७ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट ५ खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् ।

प्रतिक्रिया