जुडो खेलाडी सोनिया पराजित, सुटिङमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली खेलाडी सोनिया भट्टले जुडोको ४८ केजी मुनिको तौल समूहमा रसियाकी डोल्गोभा इरिनासँग १०-०ले पराजित भएकी छन् । ३२ औं गृष्मकालीन ओलम्पिक प्रतियोगिता अन्तर्गत आज बिहानै भएको नेपालका दुई खेलमध्ये जुडोमा उनी पराजित भएकी हुन् ।
शुटिङमा १० मिटर एयर राइफलमा कल्पना परियार भने ५० जनामा ४६ औं भएकी छन् । यससँगै उनले आफ्नै राष्ट्रिय रेकर्ड तोडेकी छन् ।यद्धपि‚ उनी फाइनल प्रतिस्पर्धाका लागि भने छनोट हुन सकिनन्। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा शनिबार भएको खेलमा कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्।
यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। कल्पनाले ६१६.८ स्कोर गरे पनि अन्तिम चरणमा भने स्थान बनाउन असफल भइन्। छनोटबाट शीर्ष आठ खेलाडीले मात्र फाइनल खेल्नेछन्।
भट्ट र परियार दुबैले वाइल्डकार्ड मार्फत टोकियो ओलम्पिकमा सहभागीता जनाउने अवसर पाएका हुन् ।
साउन १२ गते पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र साउन १३ गते गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ ।
साउन १५ गते एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिने छिन् ।
हिजो भएको उद्घाटन समारोहको मार्चपासमा नेपालका तर्फबाट पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले झण्डा बोकेका थिए ।
मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए ।
प्रतिक्रिया