शनिबार, जेठ ४, २०८२

आन्तरिक राजस्व कार्यालय हेटौंडाले लक्ष्यभन्दा बढी राजस्व उठायाे

नेपालखोज २०७८ साउन ९ गते १२:५८

वाग्मती । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैयाँ राजस्व सकंलन गरेको छ ।

सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा चार अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजस्व सकंलन भएको थियो ।

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कार्यालयले गत आव २०७७/७८ मा पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैयाँ राजस्व सकंलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी पाँच अर्ब ५२ करोड ८२ लाख ४८ रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।

कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए ।

आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार रुपैयाँ लक्ष्य रहेकोमा एक अर्ब नौ करोड ५२ लाख ८३ हजार रुपैयाँ, बहाल करतर्फ तीन करोड १९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा दुई करोड ६१ लाख १८ हजार रुपैयाँ तथा ब्याजकरतर्फ दुई करोड ६१ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चार करोड सात हजार रुपैयाँ सङ्कलन भएको थियो ।

मूल्य अभिवृद्धिकरतर्फ ९१ करोड ५४ लाख ७९ हजार रुपैयाँ राजस्व सकंलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ३२ करोड ३० लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको बताइएको छ ।

यसैगरी अन्तसः शुल्कतर्फ तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार रूपैयाँ राजस्व सकंलन गर्ने लक्ष्य रहेकोमा दुई अर्ब ८६ करोड ९० लाख २१ हजार रूपैयाँ सकंलन भएको थियो ।

प्रतिक्रिया