पाँच नगरपालिकाको आर्थिक सहयोगमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना सुरु, १५ सयलाई रोजगारी

काठमाडौं । फोहोरमैला व्यवस्थापनको लागि पहल गर्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र पाँच नगरपालिकाहरुको आर्थिक साझेदारीमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना (पिजीआरपी) सुरू भएको छ । यस परियोजनाले फोहोरमैला व्यवस्थापनको साथै १५ सय जनाका लागि प्रत्यक्ष रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ । जसका लागि जोखिममा रहेका समूह, विशेष गरी महिलाहरुलाई प्राथमिकता दिइनेछ ।
यूएनडीपीको प्राविधिक सहयोग तथा आर्थिक साझेदारीमा गण्डकी प्रदेशको वालिङ्ग नगरपालिका, कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका, सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकामा यो परियोजना कार्यान्वयनमा अएको छ, भने प्रदेश २ को जनकपुरधाम उप–महानगरपालिका र लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा पनि सञ्चालन हुनेछ ।
यस परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सृजना गर्नुको साथै, फोहोरको व्यवस्थापन स्रोतबाट नै सुरु हुनुपर्छ भन्ने अवधारणालाई प्रवर्द्धन गर्नेछ । यसका लागि घर, उद्योग, व्यवसाय तथा संघसंस्थामा फोहोरको वर्गिकरण गर्ने प्रणालीको विकास गर्ने उद्देश्यले फोहोरमैला व्यवस्थापनमा अपनाइने प्रक्रियाहरु जस्तैः संकलन, वर्गिकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सृजना गर्नेछ ।
साथै बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यवसायीक जैविक खेतीलाई प्रवर्द्धन गरी आम्दानीको स्रोेतलाई बढावा दिइनेछ । कार्यक्रमको पहिलो वर्षमा अनौपचारिका रुपमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब २०० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गिकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ । जसमध्ये ५० प्रतिशत महिला हुनेछन् ।
साथै ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै १३ सय जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् भने नगरपालिकाभित्र रहेको ५ हजार घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ ।
प्रतिक्रिया