मंगलबार, वैशाख १८, २०८१

अख्तियारले जेल हाल्ने संकेत पाएपछि राजीनामा दिँदै कृषि सचिव जिसी

नेपालखोज २०७६ माघ ९ गते १९:३९

९ माघ,काठमाडौं । भ्रष्टाचारको आरोपमा पटक पटक अख्तियारमा बयान दिन पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि तर्फका सचिव डा युवकध्वज जिसीले राजीनामा दिने तयार गरिरहेका छन् । कृषि क्षेत्रमा भ्रष्ट सचिवको छविका रुपमा चिनिएका जिसीले पछिल्लो समय राजनीतिक दवावकै कारण राजीनामा दिने तयारी गरिरहेका हुन् ।

आफूलाई प्रधानमन्त्री ओली निकट भन्दै कृषिमा दादागिरी चलाईरहेका जिसीले कृषि क्षेत्रमा ब्रम्हलुट मच्चाईरहेका छन् । आफू नदेखिने गरी उनले कमिशनको डिजाइन आफ्नो साला मार्फत चलाईरहेका थिए र छन् पनि ।

कृषि विभागको महानिर्देशक हुँदादेखि नै आफ्नो पेन्सन नहुने भन्दै साना तहका कर्मचारीको सरुवामा पाँच हजारदेखि माथि जति पनि कमिशन लिने छविका रुपमा उनलाई चिनिने गरिन्छ । पछिल्लो समय उनले विशेष अनुदानमुखि आयोजनाहरुका त्रासको वातावरण नै बनाईरहेका छन् । अझ कृषि सचिव भएर वन मन्त्रालयमा हाजिर हुँदा खेरी उनलाई रक्तचन्दनका माफियाहरुसँग मिलेमतो गरेको आरोपमा त्यहाँका सहसचिव लगायतका कर्मचारीहरुले मुख्य सचिवसम्म उजुरी गरेका थिए ।

पैसा भने पछि जे गर्न पनि तयार हुने जिसीलाई त्यही कारण तात्कालिन पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरियो । त्यसताका पनि यिनले दाना उद्योगीदेखि पशु तथा पशु औषधी आयातकर्तासम्म रकम असुलेको आरोप छ । कतिपय पशु औषधी तथा एण्टिवायोटिकालाई फिड सप्लिमेण्ट भन्दै आयात अनुमति दिन पशु सेवा विभागका महानिर्देशकलाई दवाव दिने गर्दथे । मन्त्रालयका प्रत्येक कर्मचारीसँगको छलफल वा वैठकमा आफ्नो पेन्सन नहुने भएकाले साथीहरुले बुझेर काम गर्न आग्रह गर्दछु भन्दै घुमाउरो पाराले कमिशन माग्ने गरेको कर्मचारीहरु बताउँछन् ।

पछिल्लो समयमा कृषि आयोजनाका विभिन्न अनुदान कार्यक्रमा प्रत्यक्ष संलग्न भएर कमिशन खाएको आरोप उनलाई छ । विशेष गरी शीत भण्डार जस्ता ठूलो अनुदान रकममा उनी कमिशनका लागि संलग्न भएकै कारण अख्तियार दुरुपायोग अनुसन्धान आयोग धाईरहेका थिए ।
श्रोतका अनुसार जिसीले साला दानबहादुर जिसी मार्फत कमिशन बुझ्ने गरेका थिए भने मन्त्रालयका हरेक कार्यालय तथा आयोजनमा साला कै कम्पनी प्रयोग गरी श्रव्यदृश्य उत्पादन गर्न लगाउर करोडौं रुपैयाँ हात पार्न सफल भएका थिए ।

रामपुर क्याम्पसमा पढाउँदा पढाउँदै कृषि सेवामा सहसचिवका रुपमा छड्के प्रवेश गरेका उनको योजना नै कृषिमा मस्त कमाउने रहेको थियो । उनले लिएको कमिशनबाट परिवारका साईनो पर्नेहरुका नाममा प्रशस्त सम्पत्ति जोडेका छन् । त्यत्तिमात्र नभई उनले करोडौं रुपैयाँ कृष्ण अधिकारीको स्वामित्वमा चितवनमा रहेको एग्रि केयरमा लगानी गरेका छन् । सो एग्रि केयरले प्रांगारिक विषादी उत्पादन गर्दै आईरहेको छ ।
आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति गर्नका लागि जिसीले सरकारी सम्पत्ति समेत अरुलाई भोगचलन गर्ने निर्णय गरेका छन् ।

आगामी वर्ष अवकाश प्राप्त भएपछि इरी संस्थामा आफूलाई नियुक्ति गराउने शर्तमा उनले खुमलटार स्थित तरकारी फार्ममा विदेशी दातृ निकाय इरीलाई पुरै भवन कार्यालय सञ्चालनका लागि दिएका थिए । ईरीकै पदाधिकारीको इशारामा उनले सो संस्थालाई बार्षिक २५ करोड रुपैयाँ विनियोजन समेत गराउन लगाएका थिए । तर अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई २५ करोड दिन नमिल्ने भन्दै बजेट शीर्षकबाट सो रकम हटाईदिएको थियो ।

कृषि क्षेत्रलाई ध्वस्त पार्दै कमिशनमा रमाउँदै आईरहेका जिसीले अख्तियारले जेल हाल्ने संकेत पाएपछि राजीनामा दिँदैछन् । जिसीको कर्तुत प्रधानमन्त्री ओलीसमक्ष पुगिसकेको छ । मुसो बनेर छिर्ने हात्ति बनेर निस्कने स्वभावका छन् जिसी । जसले नेपाली कृषि क्षेत्रलाई ध्वस्त बनाउँदै आएका छन् । – टंककला तिमिल्सेना 

प्रतिक्रिया