नेपाल प्रहरीले भन्यो – संगठनभित्र रहेका समस्या र गलत क्रियाकलाप सुधार्दै जान्छौं

काठमाडौं । नेपाल प्रहरीले संगठनभित्र रहेका समस्या र गलत क्रियाकलापहरु सुधार्दै जाने प्रतिवद्धता जनाएको छ । बुधवार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र देखापर्ने गरेका समस्या र गलत क्रियाकलापहरुलाई प्राप्त पृष्ठ पोषणका आधारमा सुधार गर्दै जाने बताए ।
उनले प्रहरीको गलत क्रियाकलापविरुद्धमा आलोचनात्मक सुझावहरुको अपेक्षा गरेको बताए । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले प्रहरीले आव ०७६/७७ मा विभिन्न दर्जाका ४ हजार ९५१ जनालाई पुरस्कार र १ हजार ९७४ जनालाई विभिन्न किसीमको कारबाही गरिएको जानकारी दिए ।

त्यस्तै, आव ०७७/७८ मा विभिन्न दर्जाका ४ हजार ४३० जनालाई पुरस्कार र १ हजार ९८२ जनालाई कारबाही गरिएको उनले जानकारी दिए । उनले गैर व्यवसायिक काम गर्ने, अपराधमा संलग्न हुने र आर्थिक अनियमितता गर्नेहरुलाई कारबाही गर्ने गरिएको पनि बताए ।
नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए । त्यस्तै उनले ज्यान सम्बन्धी कसूर अनुसन्धान कार्य निर्देशन, २०७७ जारी भइ कार्यान्वयनमा रहेको पनि बताए ।
प्रतिक्रिया