आइतबार, जेठ ५, २०८२

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण, निजी आवासमा ९०.४१ प्रतिशत वित्तीय प्रगति

नेपालखोज २०७८ साउन १९ गते २०:२२

काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गरेका छन् ।

मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।

उक्त आर्थिक वर्षमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका २१६ वटै भवनहरुको पुनर्निर्माण सकिएको छ ।

कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको छ । निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८४ करोड ८८ लाखमध्ये २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ, जुन ९०.४१ प्रतिशत हो ।

समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माणमा पनि उल्लेखनिय प्रगति भएको छ ।

प्रतिक्रिया