धौलागिरि अस्पतालमा चिकित्सकको अभाव

गलकोट । धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ ।
कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।
सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।
यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेको र उनको समेत सरुवा भइसकेको छ ।
अस्पतालमा कोरोना महामारीकै समयमा करारका १५ मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन थालेको डा पोखरेलले जानकारी दिए ।
आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको डा पोखरेलले गुनासो गरे । सम्भावित तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै चार शय्याको शिशु सघन कक्ष निर्माण गरेको र थप पाँच शय्याको थप गर्ने गण्डकी सरकारको योजना रहेको भए पनि मेडिकल अधिकृत र नर्सको अभाव खड्किएको उनले बताए ।
अस्पतालमा उपकरण थपिँदै गए पनि दक्ष जनशक्तिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए । डायलासिस कक्षमा १८ जना बिरामी पर्खाइमा रहेको अस्पतालले जनाएको छ ।
दुई मेसिन सञ्चालन गर्न पाए बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ । दुई सय शय्यामा स्तरोन्नति गर्ने योजनामा रहेको अस्पतालमा ५० शय्या भए पनि अस्पतालले आवश्यकताअनुसार शय्या थप गर्दै उपचार गरिरहेको छ ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएको र कोरोनासँग जुध्न कम्तीमा १५ जना मेडिकल अधिकृत चाहिने अस्पतालले जनाएको छ । अहिले भएको चार÷पाँच जना मेडिकल अधिकृत इमर्जेन्सी कक्षमा जाँच र उपचारका लागि मात्रै ठिक्क हुने गरेको छ । रासस
प्रतिक्रिया