शनिबार, जेठ ४, २०८२

नयाँ बसपार्कको ‘टिकट काउन्टर’ मा कम्प्युटर प्रणाली

नेपालखोज २०७८ साउन ३१ गते ९:५२
तस्बिर : रासस

काठमाडौं । हाते कागजमार्फत यात्रुलाई टिकट प्रदान गर्दै आएको काठमाडौंको नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत सम्झौता भई २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका काउन्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । टिकट काउन्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पो;fक र परिचयपत्र लगाउनुपर्ने भएको छ ।

प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्य स्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् । कम्प्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रस्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नयाँ बसपार्कभित्रका ३२ टिकट काउन्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् । ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड-१९ सङ्क्रमणपछि हुने भिडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर टिकट काउन्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउन्टरमा हुने भिड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउँछन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउन्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ । ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटेल तथा लजसमेत सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिकाको वडा २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनीमा फैलिएको छ । ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि विचल्ली नहोस् भन्ने उद्देश्यले होटेल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संसाधन प्रमुख पंकज मल्ल बताउँछन् । यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सह-चालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटेलमा जानुपर्ने बाध्यता थियो ।

बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्ण रूपमा बन्द रह्यो ।

कोरोनाका कारण बन्द हुँदा नयाँ बसपार्कमा २० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुद्देश्यीय प्रालिले जनाएको छ । ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौं महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिक रूपमा जग्गाको भाडा बुझाउँदै आएको छ । -रासस

प्रतिक्रिया