शनिबार, जेठ ४, २०८२

रोगले अलैंची मासिएपछि वैकल्पिक उपायको खोजीमा किसान

नेपालखोज २०७८ भदौ २ गते १३:१०

इलाम । रोग लागेर नगदेबाली अलैंची मासिँदै गएपछि मोरङका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मानिने अलैंची मासिन थालेपछि किसानहरू चिन्तित भएका हुन् ।

मकैबारी नै मासेर अलैंची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैंची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् ।

‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो,’ उनी बताउँछन् । अलैंची बाली मासिँदै जान थालेपछि इलामका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । दुई वर्षअगाडि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रममार्फत देउमाई नगरमा अलैंची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नुका साथै समयमा वर्षा नहुँदा मासिने क्रममा छ । सन्दकपुर गाउँपालिकामा भने अलैंची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत अलैची बाली मासिन थालेकाले किसानहरूले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन ३० हजार रुपियाँभन्दा माथि पुगेको छ ।अन्य बाली लगाउनुपर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी सङ्घका देउकुमार रानाले गुनासो गरेका छन् ।

गत वर्ष जिल्लामा ५७६ टन अलैंची उत्पादन भएको थियो । यस वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६ सय हेक्टरमा अलैंची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण अनुमान गरिएजति उत्पादन नहुने भएको छ । इलामको अलैंची भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ । -रासस

प्रतिक्रिया