सोमबार, वैशाख २९, २०८२

झापामा तीन गुणाले बढ्यो सवारीसाधनको दुर्घटना

नेपालखोज २०७८ भदौ २ गते १३:२२

झापा । झापामा पछिल्लो समय तीन गुणा बढी सवारीसाधन दुर्घटना भएको छ । कोरोना भाइरसको महामारीबीच बन्दाबन्दी गरिए पनि निजी सवारीसाधन सञ्चालन हुँदा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । आर्थिक वर्ष ०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए । आव ०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिएका छन् ।

आव ०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव ०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव ०७७/७८ मा तीन करोड ६९ लाख ५३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायत ५३ हजार एक सय सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । -रासस

प्रतिक्रिया