मंगलबार, वैशाख ३०, २०८२

व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने अन्नपूर्ण होटेलका कर्मचारीकाे चेतावनी

नेपालखोज २०७८ भदौ २ गते १७:२१

काठमाडाैं । काठमाडौंको दरबारमार्गस्थित होटेल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलबसमेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटेल परिसरमा बिरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन् ।

उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम मासिक पारिश्रमिक ५ हजारसमेत विगत २ वर्षयता नदिएको भन्दै होटेल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी लगाएका छन् ।

होटेल व्यवस्थापनले होटेल एशोसिएन अफ नेपाल (हान)सँग सहमति गरे अनुसारको न्यूनतम तलबसमेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटेल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए ।

होटेल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटेल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलवसमेत दिने तत्परता नदेखाएपछि आफूहरु होटेल परिसरमै आएर विरोध प्रर्दशनमा उत्रनु पर्ने अवस्था आएको कर्मचारीको भनाइ छ ।

उनीहरुले तत्काल होटेल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दवाव दिएका छन् ।

प्रतिक्रिया