शनिबार, जेठ ४, २०८२

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

नेपालखोज २०७८ भदौ ४ गते ११:३९

भरतपुर । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोगवापत राजश्व संकलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ ।

विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए ।

केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चित्रवन केबल नेटवर्कबाट ३० लाख ५५ हजार रूपैयाँ ६८ र कनेक्ट नेपाल नेटवर्कबाट एक लाख ७७ हजार ९६५ रूपैयाँ असुल गरिएको छ । सेवा विस्तारमा रोक लगाइएपछि अन्य कम्पनीले पनि तिर्ने सहमति जनाएको उनले बताए ।

ती संस्थाकोे पुरानो सेवा अवरुद्ध नगरिए पनि नयाँ विस्तारमा भने रोक लगाइएको उनले बताए । साथै केन्द्रले विद्युतीय संरचना प्रयोग गरी नेटवर्क विस्तार नगर्न/नगराउन सूचना जारी गरेको छ ।

यस सूचनालाई बेवास्ता गरी नेटवर्क विस्तार गरेमा कडा कारबाही गरिने जनाइएको छ । ती संस्थाले सहरलाई नै कुरुप हुने गरी तार टाग्ने गरेकामा चर्को विरोध पनि हुँदै आएको छ ।

प्रतिक्रिया