यस्तो बन्यो नेपाली क्रिकेट टिमको नयाँ जर्सी ! (फोटो फिचर)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ । नयाँ जर्सी ओमानमा हुने त्रिकोणात्मक सिरिजमा नेपाली टिमले लगाउनेछ ।
जर्सी सार्वजनिक कार्यक्रममा क्रिकेट टिमका खेलाडीहरुका साथ मुख्य प्रशिक्षक डेभ वाट्मोरलगायतको सहभागिता थियो ।
काठमाडौंमा आज (सोमबार) भएको कार्यक्रममा नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनोट गरिएको र त्यहि डिजाइनको जर्सी आज सार्वजनिक भएको हो ।
नयाँ जर्सीलाई नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सह-प्रमुख शुलभ बुढाथोकी सार्वजनिक गरेका छन् । जर्सीको डिजाइन बापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । आज सार्वजनिक भएको जर्सीमा नेपाली संस्कृति झल्किने गरेर डिजाइन गरिएको बताइएको छ ।
नेपालको राष्ट्रिय झन्डाको रङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।
कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिति रहेको थिएन । काठमाडौंमा भएको सिरिजअघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुष्टि जनाएपछि नेपाल क्रिकेट संघ क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मागिएको थियो ।
आज सार्वजनिक भएको जर्सी मंगलबार (भोलि) ओमान जाने नेपाली टिमले लगाउनेछ । आईसीसीको गाइडलाइनअनुसार नै नयाँ जर्सी डिजाइन भएको नेपाल क्रिकेट संघले बताएको छ ।




सबै तस्बिर : महेश फुयाँल ।
प्रतिक्रिया