लघु जलविद्युत् परियोजनाको पावरहाउस बाढीले बगायो

म्याग्दी। लघु जलविद्युत् परियोजनाको पावरहाउस (विद्युतगृह) बाढीले बगाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा हिजोराति परेको ठूलो वर्षासँगै दरखोलामा आएको बाढीले लघु जल विद्युतको पावरहाउस बगाएको बताइएको छ ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनका अनुसार ४२ किलोवाट क्षमताको दोस्रो दरखोला लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र नहर बगाएको छ । उनले दरखोलामा आएको बाढीले कटान गर्दा परियोजनाको संरचनाहरु बगाएको जानकारी दिए ।
बाढीले खबाङको दोभानमा रहेको बाँध, पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेको पावरहाउसमा क्षति पुर्र्याएको छ । यसअघि २०७२ सालमा पनि जुगेपानीमा आएको पहिरोले विद्युत् गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना सारिएको थियो भने पछि २०७६ सालमा एक करोड ५० लाख बढीको लागतमा परियोजना बनाइएको थियो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख र धवलागिरि गाउँपालिकाले ५० लाख रुपैयाँको लगानीमा जलविद्युत् परियोजना निर्माण गरिएको थियो ।
बाढीले जलविद्युत् परियोजना बगाएपछि लुलाङका ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । यसैगरी क्षतिको विवरण सङ्कलनका साथै थप जोखिमको आकलन गर्न जनप्रतिनिधि र उपभोक्ता समिति घटनास्थल पुगेको छ ।
प्रतिक्रिया