बिहीबार, जेठ २, २०८२

‘त्रिवि क्रिकेट मैदानलाई खेलको भार’

नेपालखोज २०७८ असोज ८ गते १४:४९

काठमाडौं । त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो ।
त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन ।

जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो । त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरु खेल्ने एकमात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगती गरिरहेको छ ।
तर अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन् । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन् ।
नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन् ।

तर पनि सरकार यसबारेमा लाचार देखिन्छ । नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एशोसिएट सदस्यता पाएको थियो ।

अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ ।

नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताए ।

उनले एउटै क्रिकेट पिचमा खेल्दा एक,दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिए ।

एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उनले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताए । उनले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताए ।

त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ, इपीएलको लागि मैदान तयार भइसकेको छ ।

पिच २२ गजको हुनेगर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्, यसमा घाँस कम हुन्छ भने पिचले म्याचमा टीमको रणनीतिलाई प्रभावित बनाउँछ ।

नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो ।

सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।

प्रतिक्रिया