३ दाजुभाइ एकैपटक गैँडा तस्करी मुद्दामा पक्राउ

काठमाडौं । वि.सं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मरेको थियो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।
तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८-७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ गरेको थियो ।
चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् ।
मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ ।
ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया