बिहीबार, जेठ २, २०८२

धरानले गर्‍याे लक्ष्यभन्दा ५८ करोड बढी राजस्व संकलन

नेपालखोज २०७८ असोज १४ गते १०:३८


विराटनगर । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कुल दुई अर्ब ८७ करोड ५२ लाख रूपैयाँ राजस्व संकलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कुल दुई अर्ब २८ करोड ८६ लाख राजस्व संकलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रूपैयाँ राजस्व बढी संकलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए ।

संकलित राजस्वमा आयकर ९७ करोड २८ लाख रूपैयाँ, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख रूपैयाँ र अन्तःशुल्क ८९ करोड ६८ लाख रूपैयाँ छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कुल दुई अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड रूपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल २६ करोड ६१ लाख रूपैयाँ र भदौमा १२ करोड ४७ लाख रूपैयाँ राजस्व संकलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ ।

उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे । रासस

प्रतिक्रिया