वस्तु तथा सेवा आयात बढ्यो, व्यापार घाटा २ खर्ब ७० अर्ब नाघ्यो
रेमिट्यान्स रकमसँगै विदेशी मुद्रा सञ्चिती पनि घट्यो

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा आएसँगै मुलुकमा कुल वस्तु तथा सेवा आयात बढेको छ । नेपाल राष्ट्र बैकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था सम्बन्धी दुई महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५ दशमलव नौ प्रतिशतले वृद्धि भई तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६ दशमलव सात प्रतिशत, ७६ दशमलव दुई प्रतिशत र एक सय ४१ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने, रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु निर्यात भने एक सय १५ दशमलव चार प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ५० दशमलव सात प्रतिशत, २० दशमलव सात प्रतिशत र ३१ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ सबै भन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७० दसमालव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दसमलव चार प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ अर्ब ४५ करोड बराबरको यस्तो आयात भएको थियो ।
रेमिट्यान्स रकम घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकम घटेको छ । यस अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब ३७ करोड कायम भएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव छ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार चार सय ९२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९ दशमलव दुई प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६ दशमलव पाँच प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर छ दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ७१ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले बढेको थियो ।
विदेशी मुद्रा सञ्चिती घट्यो
चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको विदेशी मुद्राको सञ्चिती घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव छ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३ खर्ब छ अर्ब ९५ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा पाँच दशमलव दुई प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा सात दशमलव सात प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दसमलव दुई प्रतिशत रहेको छ ।
प्रतिक्रिया