शुक्रबार, जेठ ३, २०८२

राष्ट्रिय महिला लिग : पुतलीबजारलाई ८–१ ले पराजित गर्दै भक्तपुर विजयी

नेपालखोज २०७८ कार्तिक ९ गते १४:०६


काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो ।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई–दुई गोल गरिन् भने अजिता घर्तिमगरले एक गोल गरिन् ।

यता पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् । यस जितसँगै समूह ‘सी’ को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।

प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । रासस

प्रतिक्रिया