शनिबार, जेठ ४, २०८२

भिटामिन डी को कमी भए के गर्नुपर्छ ?

डा. हेमराज कोइराला २०७८ कार्तिक ११ गते ८:००


भिटामिन डी कमी भएकाहरूले सर्वप्रथम शरीर भित्रै भिटामिन डी बन्ने क्रियालाई बढाउनु पर्ने हुन्छ । यसका लागि सूर्यको किरणमा बस्नुपर्ने खहुन्छ । हप्तामा १ वा २ दिन वा महिनामा ५-७ दिन वा वर्षमा ५०–६० दिन हरेक पल्ट ४५ मिनेटदेखि १ घण्टासम्म घाममा बसियो भने पनि शरीरलाई चाहिने जति भिटामिन डी शरीर भित्रै बन्न सक्छ । घाममा बस्दा सकभर निवस्त्र भएरै बसेको राम्रो हो । निवस्त्र हुने सम्भव नभए कमसेकम ८०–८५ प्रतिशत हिस्सा कपडाविहिन हुन आवश्यक छ । घाम जति चर्को भयो त्यति नै भिटामिन डी को संश्लेषण ज्यादा हुन्छ तर चर्को घाममा सूर्यको अल्ट्राभाइलेट विकिरणले अन्य अङ्ग र छालालाई आघात पुर्‍याउने हुँदा सकभर बिहानको घाम ताप्न उचित हुन्छ ।

खानपानमा ध्यान दिउँ
भिटामिन डी खानाको माध्यमद्वारा पनि प्राप्त गर्न सकिन्छ । भिटामिन डी को मुख्य प्राकृतिक स्रोत माछा, माछाको तेल, कलेजो, मृगौला, अण्डा जस्ता फलमासु हुन तर मासु आफैँमा स्वस्थकर खाना नभएकाले भिटामिन डीको लागि मासु नखाएर सप्लिमेण्ट लिनु उपयुक्त हुन्छ। आजकल भिटामिन डी मिसाइएको दही, दुध, तोफु, चिज, पनिर र अन्य खानेकुराहरु पनि पाइन्छ । यो चिल्लो पदार्थमा घुल्ने भिटामिन हो । तसर्थ भिटामिन डीलाई सहि सदुपयोग गर्न स्वस्थकर चिल्लो पदार्थ खानुपर्ने हुन्छ । विशेषतः तैतिय फलफूल, सुख्खा फलफूल र क्रिमयुक्त दुध तथा दुग्ध परिकार आदि खान स्वस्थकर हुन्छ भिटामिन डी युक्त खानेकुराहरुको साथमा क्यालसियमयुक्त खानेकुराहरुको सेवन गर्न पनि अपरिहार्य हुन्छ । दुध र दुग्धजन्य परिकारहरु हरियो सागपात, पालुङ्गो, लट्टे, लुडे, वेथे, च्याउ, सिबी, बोडी, काउली, ब्रोकाउली, चुकन्दर, टमाटर, केरा सुन्तला, सिंघाडा आदिमा प्रसस्त क्याल्सियम पाइन्छ । कोदो, फापर, गहत, मकै, जवार, बाजरा, जुनेलो, सामा, कागुनी चिनो आदिमा पनि प्रशस्त क्यालसियम पाईन्छ । सुख्खा फलफूल जस्तै बदाम, किसमिस, छोकडा, खजुर, अंजीर, ओखर, तिल जस्ता खानेकुरामा पनि प्रशस्त क्यालसियम पाइन्छ ।

व्यायाम गरौ , सक्रिय रहौं
श्रम वा व्यायम गर्ने बानीले शरीरलाई स्फूर्त एवं तन्दुरूस्त बनाइरहन मद्दत गर्दछ । व्यायाम गर्दा नशा नाडीमा रक्त सञ्चार भइरहने हुँदा भिटामिन डीलाई कोष कोष सम्म पुर्‍याएर यसको कार्यलाई पूर्ण गर्न मद्दत पुर्‍याउँदछ । दैनिक ३० मिनेटको व्यायम जो कसैलाई आवश्यक पर्दछ । व्यायम गर्दा एकपल्ट शरीरका सबै जोर्नीहरु चल्नु पर्ने एकपल्ट सररर पसिना फुट्नु पर्ने र शरीरका भित्री अंगको पनि व्यायम हुनु पर्ने हुन्छ ।

घरेलु उपचार :
१) दैनिक दुध र बेसारको सेवन गरौ ।
२) भिटामिन डी कमी भएकाहरुको मुख्यक्त छाला, आन्द्रा, हड्डी र मृगौला र कलेजोलाई प्रभावित पार्ने खालको उपचार गर्नुपर्ने हुन्छ ।
३) छालालाई सक्रिय गर्नका लागि दैनिक तेल मालिस गरेर घाममा बस्ने गरौं ।
४) पेटका समस्या भएकाहरुले यथाविधि उपचार गर्नुपर्दछ । लिवर र किड्नीलाई प्रभावित पार्ने विशेष उपचारहरु पनि गर्नुपर्ने हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया