धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया सुरु

काठमाडौं । सरकारले खुल्ला प्रतिस्पर्धाद्धारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ ।
अर्थ मन्त्रालयले केही दिनअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको नेतृत्वमा छनौट तथा सिफारीस समिति गठन गरेको थियो ।
उक्त छनौट तथा सिफारीस समितिले पदपूर्तिका लागि आवेदन माग गरेको छ । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु गरेको हो ।
अध्यक्ष नियुक्तिका लागि छनौट तथा सिफारीस समितिले आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ ।
अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ ।
अध्यक्षको आवेदनका लागि ३ हजार रुपैयाँ आवेदन दस्तुर तोकिएको छ र व्यवसायीक कार्ययोजना समेत माग गरिएको छ ।
सिफारीस समितिले आवेदक मध्येबाट योग्य ३ जना मध्ये एक नियुत्तीका लागि सरकारलाई सिफारीस गर्नेछ । सोही सिफारिसमध्येबाट एक जनालाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया