शनिबार, जेठ ४, २०८२

‘विश्वमा बर्सेनि १ करोड ३० लाखलाई पक्षघात’

नेपालखोज २०७८ कार्तिक १२ गते १३:४०

काठमाडौं । विश्वमा बर्सेनि १ करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको पाइएको छ । विश्व पक्षघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि १ करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको तथ्यांक सार्वजनिक भएको बताए ।

पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, उनले भने । विश्वमा हरेक ४ जनामा १ जनालाई र ६ सेकेन्डमा १ जनालाई पक्षघातको सम्भावना रहेको डा. पौडेलको भनाइ छ।

उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ ।

डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे ४ घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा. पौडेलको भनाइ थियो ।

आज २९ अक्टोबरअर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौंको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो ।

उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात संघको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, संघका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागीता थियो । रासस

प्रतिक्रिया