पोखरा उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । विरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा विरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुआत गरेको छ ।
सुरुआतबाट नै दबाब दिएर खेलेको विरेन्द्रनगरले पहिलो हापमा २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को जित निश्चित गरेको थियो । विररेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन । समित्राले ३७औं र ७२औं मिनेटमा गोल गरेकी थिइन् ।
यस्तै कप्तान सम्झना शर्माले ३१औं मिनेटमा गोलको खाता खोल्दा सुस्मिता तामाङले खेल सकिन दुई मिनेट बाँकी रहँदा चौथो गोल गर्दै टोलीको जित निश्चित बनाएकी थिइन् । पोखराकी झरना चाम्लिङ राईले ३८औं मिनेटमा गरेको गोल पोखराका लागि सान्तोवना गोल बनेको थियो ।
जितसँगै वीरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ । जितले विरेन्द्रनगरलाई नकआउट चरणमा पुग्ने आशा बलियो भएको छ । लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको हो । प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा तुलसीपुर नगरपालिकाले हेटौडा उपमहानगरपालिकामाथि २–० को रोमाञ्चक जित निकाल्दै जारी प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफ भन्दा दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको तुलसीपुरले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको हो । तुलसीपुरको जितमा ममता पुन मगर ७७औ र मेनुका आले मगरले ७९औं मिनेट समान एक/एक गोल गर्दा जित सुनिश्चत भएको थियो ।
जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ । यता हेटौडाले भने लगातार दोस्रो खेलमा नतिजा सुम्पिएर प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा भोलि दुई खेल हुनेछन् । पहिलो खेल बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिका, दोस्रो खेल सुनकोसी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतिक्रिया