सुदूरपश्चिममा कोरोनाकाे जोखिम बढ्दै

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको सुदूरपश्चिमको कोरोना संक्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ ।
गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसैँ तिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।
यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा. अवस्थीको भनाइ छ ।
बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण गर्यो भने संक्रमणको अवस्था अझै बढ्ने आँकलन गरिएको छ ।
पछिल्लो समय कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा.अवस्थीले बताए।
पछिल्लो केही सातायता दिनहुँजसो संक्रमण कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ ।
प्रतिक्रिया