चीनकी टेनिस स्टारको आरोप- पूर्व उपप्रधानमन्त्रीले यौनशोषण गरे

काठमाडौं । चीनकी टेनिस स्टार पेङ सुआईले आफ्नो देशका एक वरिष्ठ नेता माथि यौन शोषणको आरोप लगाएकी छन् । ३५ वर्षीया पेङले पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि जबरजस्ती यौन सम्बन्ध राखेको आरोप लगाएकी हुन् ।
पेङले यो कुरा चीनको सोसल मिडिया विबोमा लेखेक थिइन् । यद्यपि उनले केही समयपछि नै उक्त पोस्ट डिलिट गरिन् तर अहिले चीनमा पेङको पोस्टको स्क्रिनसर्ट भाइरल भइरहेको छ ।
एपीको रिपोर्टअनुसार, उनले आफ्नो उक्त पोस्टका माध्यमबाट झाङमाथि केही वर्षअघि जबरजस्ती यौन सम्बन्ध राखेको बताएकी छन् । त्यसपछि भने उनीहरुबीच सहमतिमै सम्बन्ध रहँदै आएको थियो । पेङ उप-प्रधानमन्त्री झाङलाई मन पराउन थालेकी थिइन् तर उनी झाङमाथि विश्वास पनि गर्न सकिरहेकी थिइनन् । पेङले लेखेकी छन् तीन वर्षपहिले बेइजिङमा भएको एक टेनिस प्रतियोगिताको प्रबन्ध झाङले नै मिलाएका थिए । त्यही प्रतियोगिताका क्रममा झाङले टेनिस खेलाडी पेङलाई आफ्नो कोठामा लिएर गए जहाँ उनीमाथि यौन उत्पीडन गरियो । उक्त घटनापछि पेङ निकै आत्तिएकी थिइन् । पेङले के पनि लेखेकी छन्- यो कुरा साबित गर्न उनीसँग केही प्रमाण छैन ।
पूर्व-उपप्रधानमन्त्री झाङ, चीनका राष्ट्रपति सी जिनपिङको पहिलो कार्यकाल (२०१२-२०१७) मा सत्तारूढ कम्युनिस्ट पार्टीको सात सदस्यीय पोलिटब्युरोको सदस्यसमेत थिए । २०१८ मा उनी उप-प्रधानमन्त्रीबाट रिटायर्ड भए । झाङले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
विम्बल्डन र फ्रेन्च ओपन विजेता हुन् पेङ
पेङको यो विबो पोस्टका बारेमा एउटा रूटिन प्रेस कन्फ्रेन्समा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनसँग प्रश्न गर्दा उनले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै भने- फेरि यो परराष्ट्रसँग सम्बन्धित प्रश्न पनि होइन । पेङ विमेन डबल्सकी उत्कृष्ट खेलाडी मानिन्छिन् । उनले २०१३ मा विम्बल्डन र २०१४ मा फ्रेन्च ओपनसमेत अरु थुप्रै टेनिस प्रतियोगितामा डबल्सको उपाधि जितेकी छन् ।
प्रतिक्रिया