मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौं । यसै पनि किशोरावस्था सजिलो समय हैन, तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द गरिएका छन्, इभेन्टहरू क्यान्सिल भएका छन् र दिनदिनै भेट हुने, गफ गर्ने साथीसँगी छुटेका छन् ।
यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नाबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईं एक्लै मात्रै हैन । तपाईंका धेरै साथीसँगीलाई पनि यस्तै लागिरहेको छ ।
१. चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो
तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने तपाईं एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो।
विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त्यसले चिन्ता लगाउन सक्छ । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस् । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन् । युनिसेफ, विश्व स्वास्थ्य संगठन आदिका वेबसाइट भरपर्दा स्रोत हुन् ।
२. मन भुलाउने उपाय गर्नुहोस्
आफू निराश हुँदै छु भन्ने लाग्यो भने यो कुरा सम्झिनुहोस्- कुन कुरा तपाईंको वशमा छ र कुन कुराबारे तपाईंले केहि गर्नै सक्नुहुन्न ? त्यसैले आफ्नो वशमा भएका कुरामा मात्रै ध्यान दिनुहोस्- जस्तो, आफ्नो होमवर्क गर्ने, अथवा टिभी हेर्ने, वा नयाँ किताब पढ्ने । आफूलाई रमाइलो लाग्ने कुराले मन भुलाउनुहोस् ।
३. साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय भेट्टाउनुहोस्
दूरी राखिरहनु पर्ने यो समयमा साथीसँगीसँग घुलमिल हुने राम्रो माध्यम भनेको सामाजिक सन्जाल पनि हो । तर कसरी सम्पर्क कायम राख्ने ? यसबारे सिर्जनशील उपाय सोच्नुहोस् । सबैजना एकैचोटि अनलाइन रहेर गर्न सकिने क्रियाकलाप सोच्नुहोस् । नयाँ कुरा सिक्ने मौका बनाउनुहोस् ।
तर धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रिन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ । त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुहोस् । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनुहोस्। घरमै भेट्टाइने समानबाट नयाँ सामान वा कलाकृति बनाउनुहोस् ।
४. आफ्नो कथाको आफैँ हिरो
अहिले तपाईंसँग फुर्सदै फुर्सद छ ? तपाईंलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सीप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिले पाउनुहुन्छ ? आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्रा-राम्रा भावनाले भरिन्छ ।

५. आफ्नो मनका भावनालाई चिन्नुहोस्
तपाईंलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला । मनमा आएको निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ । तर त्यसलाई महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ । त्यसलाई चिनेर कविता बनाइदिनुहोस्, त्यसको अनुहारको चित्र बनाइदिनुहोस्, आफूले जानेको सिर्जनशील शैलीमा आफ्ना भावनाहरू पोख्नुहोस् । नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्नुहोस् ।
६. आफू र अरूप्रति दयालु हुनुहोस्
कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू अर्काका दुर्व्यवहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक-अर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् । कोही दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् । दुर्व्यवहारको सिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिनुहोस् । अरु समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनुपर्छ । कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गर्नुहोस् ।

न्युयोर्क टाइम्सका स्तम्भकार डा . लिजा डामौरसँग गरेको वार्तालापमा आधारित यी उपायहरू युनिसेफले तयार पारेको हो ।
नेपाली अनुवाद र चित्र : Counter Culture Nepal
प्रतिक्रिया