आइतबार, जेठ १२, २०८२

लिओन इन्धन दुर्घटना : मृतकको संख्या १०८ पुग्यो, ९२ जना जलेर घाइते

नेपालखोज २०७८ कार्तिक २१ गते १२:०५

फ्रिटाउन । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा हुँदा भएको आगलागीमा १०८ जनाको निधन भएको छ ।

आगलागीमा ९२ जना जलेर घाइते भएकाे बताइएको छ । घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ ।

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परि ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् ।

शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिए ।

उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति परेका छन् ।

इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो भनेका छन् ।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

इन्धन पोखिएको र त्यसपछि सोही इन्धनमा आगो सल्किएकाले आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए । राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताएका छन् । यस दुर्घटनाले आफूलाई अति दुखित बनाएको उनले बताएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया