आइतबार, जेठ १२, २०८२

‘कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिलाई राष्ट्रसेवाको अवसर दिउँ’

नेपालखोज २०७८ कार्तिक २१ गते १२:३०

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा राजनीतिक भागबन्डाभन्दा पनि छुट्टै साझा सूची बनाउन आग्रह गरेका छन् । उनले सामाजिक सन्जालमा एक पोस्ट लेख्दै उनले कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरुलाई राष्ट्रसेवाको अवसर दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कम्तिमा पनि केही स‌ंख्या पार्टीहरुको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकाले यसलाई तोड्ने साहस गरौं ।’

श्रेष्ठको भनाइ जस्ताको तस्तै :
प्रतिगमन विरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो ।अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रणअनुसार भाग लिएको छु ।

त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएँ । मेरो धारणा यस्तो थियो र रहेको छ। संविधान, कानुन र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत नियुक्ति गरिएका, अक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनुपर्दछ । सबैलाई एकमुष्ट रुपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बन्छ । त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन । शीर्षस्थ नेताहरुले यो कुरा ठीकै भए पनि निर्णय भइसकेकाले अब छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो ।

अब छिट्टै राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि प्रमले तीनजनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तिमा पनि केही स‌ंख्या पार्टीहरुको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकाले यसलाई तोड्ने साहस गरौं ।

प्रतिक्रिया