आइतबार, जेठ १२, २०८२

हरित वातावरण बनाउन यी काम गर्न सकिन्छ !

नेपालखोज २०७८ कार्तिक २१ गते १५:०६

काठमाडौं । बोटबिरुवाले अक्सिजन उत्पादन गर्न, हावामा भएका विषाक्त पदार्थहरू ग्रहण गर्न, कार्बन डाइअक्साइडलाई भण्डार गर्न, जैविक विविधता बढाउन, हाम्रा सहरहरूको तापमानलाई शीतल पार्न र बाढीबाट जोगाउन मद्दत गर्छ । बोटबिरुवाबाट हुने फाइदाहरूका यी केही उदाहरणहरू मात्र हुन् ! हरित वातावरण बनाउन तपाईंले निम्न कुराहरू गरेर सहयोग गर्न सक्नुहुन्छ-

बोटबिरुवा रोपेर तपाईंले आफ्नो घर वा बगैँचालाई हरियो बनाउनुहोस् !
बीउ वा खानाबाट बचेको आलु र प्याजजस्ता कुराहरू प्रयोग गर्नुहोस् । मिल्छ भने बगैंचामा रूख रोप्नुहोस् वा तपाईंलाई मनपर्ने कुनै बिरुवाको कलमी गर्नुहोस् । तपाईंको कार्य, प्रगति र सिकाइलाई हामीसँग सामाजिक सन्जालमार्फत सेयर गर्नुहोस् ।

हामीमध्ये प्राय:ले, चाहिनेभन्दा बढी प्लास्टिक प्रयोग गर्छौं र त्यसपछि त्यसलाई फ्यालिदिन्छौँ । जस्तै- प्लास्टिकका झोला, बोतल, पाइप, प्लास्टिकका खोल तथा पोको पार्ने प्रयोग गरिने प्लास्टिकहरू । एकपटक मात्र प्रयोग गरेर फ्याकिने प्लास्टिकलाई ‘सिंगल युज’ प्लास्टिक भनिन्छ । वास्तवमा, यस प्रकारका प्लास्टिक संसारमा भएका सबै प्लास्टिकको फोहोरको तुलनामा ४० प्रतिशतभन्दा बढी छन् ।

हामीले दिनहुँ उत्पादन गर्ने फोहोरलाई कम गर्न हामीले स्रोतसाधनहरू कसरी प्रयोग गर्छौँ भन्ने कुरालाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ । उदाहरणको लागि-
-तपाईंलाई आवाश्यक नभएका र एकपटक मात्र प्रयोग गरिने प्लास्टिकका उत्पादनहरू जस्ता वस्तुहरूको खपत घटाउनुहोस् ।
-वस्तुहरूलाई सकेसम्म धेरैपटक पुन: प्रयोगमा ल्याउनुहोस्
-फोहोरलाई परिमार्जित गरी पुन: प्रयोगमा ल्याउनुहोस् ।

फोहोर व्यवस्थापनका कार्यहरू निम्न प्रकार छन्-
-तपाईंको दैनिक जीवनमा गर्नु हुने प्लास्टिकको प्रयोगलाई घटाउनुहोस् ।
-टोट ब्याग र कपडाका झोलाहरू जस्ता पुन: प्रयोग गरिन सकिने झोलाहरूको प्रयोग गर्नुहोस् । प्लास्टिकका झोलाहरू प्रयोग गर्न छाडिदिनुहोस् ।
-वस्तुहरू र प्लास्टिकहरूलाई परिमार्जित गरी पुन: प्रयोगमा ल्याउनुहोस् ।
-प्लास्टिकको ब्यागहरू जतिसक्दो धेरैपटक प्रयोग गर्नुहोस् । प्लास्टिकका बोतलहरू र बट्टाहरूलाई बोटबिरुवा रोप्ने भाँडाका रूपमा प्रयोग गर्नुहोस् । पुरानो लुगालाई झोला र कपडा बनाउनुहोस् । प्लास्टिकलाई पुन: प्रयोगमा ल्याउन तपाईंले आफ्नो कल्पनाको सबै सीमाहरू पार गर्न सक्नुहुन्छ ।
-फोहोरलाई गल्ने र नगल्ने गरेर घरमै दुई भागमा विभाजन गर्नुहोस् र पुन: प्रयोगमा ल्याउनुहोस् ।
-कुहिने फोहोरबाट मल बनाउन सकिन्छ भने, नकुहिने फोहोरलाई बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ । याद राख्नुहोस्, फोहोरलाई जलाउँदा निस्किने धुँवा विषाक्त हुन्छ र यो माटो, पानी र हावाको स्वास्थ्यका लागि नराम्रो हुन्छ र अन्ततः मानिस र जनावरहरूको स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ ।

पानी बचाउन तपाईं के गर्न सक्नुहुन्छ ?
चलाखीपूर्वक र कुशलतापूर्वक पानी प्रयोग गर्नाले वातावरण संरक्षण गर्नमा मद्दत पुग्छ भने सार्वजनिक पानीको आपूर्ति र खडेरीको जोखिम कम हुन्छ र यसका साथै पैसा पनि बचाउँछ। हामीले आफ्ना केही बानीहरू परिवर्तन गरेर पानी बचत गर्न सिक्यौँ भने विश्वलाई बाँच्न योग्य ठाउँ बनाउने दिशामा धेरै मद्दत पुग्न सक्छ । वर्षाका बेला जम्मा गरेको पानीलाई बोटबिरुवामा हाल्न र यस्ता अन्य कार्यहरूका लागि पुन: प्रयोग गर्नुहोस् ।

पैरवी
यी कार्यहरूको अभ्यास गर्नुहोस् र जलवायु तथा वातावरणको लागि तपाईंले के गर्दै हुनुहुन्छ भन्ने कुरा घरभित्र र सामाजिक सन्जालमार्फत आफ्ना साथी, परिवार र छिमेकीहरूलाई पनि सचेत गराउनुहोस् ।
स्रोत : युनिसेफ

प्रतिक्रिया