न्युजिल्यान्डमा आजदेखि इच्छामृत्युको अधिकार !

काठमाडौं । न्युजिल्यान्डमा आज (आइतबार) बिहानदेखि इच्छा मृत्यु कानुन लागु भएको छ । यसका साथै न्यूजिल्यान्ड ती केही मुलुकको सूचीमा सामेल भएको छ जहाँ इच्छामृत्यृले कानुनी मान्यता प्राप्त गरेको छ ।
यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानाडा, अस्ट्रेलिया तथा कोलम्बियाले इच्छामृत्यृलाई कानुनी मान्यता प्रदान गरिसकेका छन् । यी देशमा मृत्युको इच्छा पूरा गर्न आ-आफ्नै नियम एवं सर्त तयार गरिएका छन् ।
न्यूजिल्यान्डमा यो कानुनअनुसार इच्छामृत्युको चाहना राख्ने व्यक्ति टर्मिनल इलनेस अर्थात् ६ महिनाभित्र मृत्यु निश्चित भएको हुनु आवश्यक छ ।
हालै न्यूजिल्यान्डमा इच्छामृत्युको विषयमा गराइएको जनमत संग्रहमा ६५ प्रतिशतभन्दा बढी मानिसले यो कानुनका पक्षमा मत जाहेर गरेका थिए । त्यहाँ यो मुद्दामा लामो छलफल र बहससमेत चलेको थियो ।
न्यूजिल्यान्डमा प्रधानमन्त्री जेसिन्डा आर्डर्नसँगै विपक्षी नेताले समेत इच्छामृत्यु कानुनलाई समर्थन गरेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया