टी-ट्वान्टी विश्वकपबाट भारत बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

काठमाडौं । टी -२० वर्ल्ड कप अन्तरगत आफ्नो अन्तिम सुपर १२ को खेलमा न्युजील्यान्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यससँगै भारत सेमिफाइनलको रेसबाट बाहिरिएको छ ।
भारत सुरुका दुई खेलमा पराजित भए पछि संकटमा परेको थियो भने विराट कोहली नेतृत्वको भारतिय टिम टी -२० वर्ल्ड कपबाट आउट भएपछि टिमका सम्बन्धमा अनेकौं प्रश्न उठेका छन्। सेमिफाइनलको अन्तिम समिकरणअनुसार अब इग्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड तथा पाकिस्तान सेमिफाइनलमा भिडने छन् ।
आज अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको भए मात्र भारत सेमिफाइनलमा पुग्ने सम्भावना जिवित रहन्थ्यो । अफगानिस्तानको यो हारसँगै टीम इन्डियाको टि २० वर्ल्ड कप जित्ने सपना चकनाचुर भएको छ। आजको जित पछि न्युजिल्यान्डले ८ अंक बटुलेको छ । भारतले आफ्नो नामिवियाविरुद्धको बाँकी खेल जिते पनि ६ अंक मात्र जोडन सक्नेछ। पाकिस्तान ग्रुप बी बाट पहिले नै वर्ल्ड कपको सेमिफाइनल पुगिसकेको छ ।
भारतीय क्रिकेट टिम चालु टी- २० वर्ल्ड कपको पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले हारेको थियो । क्रिकेटलाई धर्म मान्ने संसारकै सबैभन्दा धनी क्रिकेट काउन्सिल भएको तथा आइपिएल जस्तो मजबुत र लोकप्रिय टि- २० क्रिकेट प्रतियोगिता संचालन गर्ने स्टार क्रिकेटरहरुले भरिपुर्ण भारतको यो लज्जास्पद घर फिर्तिले धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।
प्रतिक्रिया