शनिबार, जेठ ११, २०८२

गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक

नेपालखोज २०७८ कार्तिक २२ गते १३:४३

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।

सोमवार पत्रकारहरुसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडबाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।

अध्यक्ष शाक्यले चाडबाड पछिका केही दिन बजार सुस्त भएपनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडबाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए ।

उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुने कुरामा आशावादी रहेको बताए । अध्यक्ष शाक्यले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको बताए । दशैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको बताए ।

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उहाँले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौंमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताए ।

अध्यक्ष शाक्यले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने बताए ।

प्रतिक्रिया