आइतबार, जेठ १२, २०८२

‘प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्दैन’

नेपालखोज २०७८ कार्तिक २२ गते १४:१४

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्राङगनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए । उनले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए ।

नेपाल बार एसोसिएसनका पूर्व केन्द्रिय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबी समेत गरे ।

नेपाल बार एसोसिएसनले मंगलबार (भोली) बिहान साँढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रिया