शनिबार, जेठ ११, २०८२

एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने

नेपालखोज २०७८ कार्तिक २२ गते १५:०४

काठमाडाैं । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्यमात्र सहभागी हुने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेका अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।

ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए ।

अहिले नौ लाख सङ्गठित सदस्य पुगेको उनको भनाइ रहेको छ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक/एक जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिइएको छ ।

एमाले महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । रासस

प्रतिक्रिया