औषधि व्यवस्था विभागको सांगठनिक संरचनाको सुधार गर्छाैं : मन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको सांगठनिक संरचनाको सुधार गर्ने बताएका छन् ।
विभागले आज यहाँ आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो सांगठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताए । उनले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउनेसमेत बताए ।
उनले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राखे । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताए । उनले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिए ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताए । उनका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन् ।
उनले २०७२ सालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ३२८ जनाको दरबन्दी प्रस्ताव गरे पनि अझै स्वीकृत नभएको बताए । उनले कम दरबन्दीले गर्दा विभागले राम्रोसँग काम गर्न नसकेको बताए । विभागमा २० हजार ब्रान्डका औषधि र १५ हजार व्यवसायी दर्ता भएका छन् ।
रासस
प्रतिक्रिया